बौद्ध परम्परा अनुसार ल्होमी (शिंसावा) जातिको सामाजिक संस्कार

शोधसार
छिरिङ तेम्बा भोटे
शैक्षिक सत्र २०७१
“बौद्ध धर्म परम्परा अनुसार ल्होमी (शिंसावा) जातिको सामाजिक संस्कार” शीर्षकमा गरिएको यो अध्ययन संखुवासभा जिल्ला अन्र्तगतको माथिल्लो अरुण उपत्यकाको अति विकट दुर्गम भोटखोला गाउँपालिका अन्र्तगतका वडा नं. १, २, ३ र ४ का ल्होमी गाउँहरुमा बसोबास गर्ने अति सीमान्तकृत ल्होमी जातिको सामाजिक संस्कारमा केन्द«ीत रहेको छ । यस अध्ययनको मुख्य उदेश्य ल्होमी जातिको परिचय र उत्पत्ति खोजी गर्नु, ल्होमी जातिको बौद्ध धर्म परम्परा अनुसार गरिने सामाजिक संस्कार अन्र्तगत जन्म, मृत्यु र विवाह संस्कारको अध्ययन गर्नु, ती संस्कारहरुमा देखापरेका परिवर्तनहरु तथा संस्कार संरक्षण एवं सम्र्वद्धनको उपायहरुको विषयमा अध्ययन अनुसन्धान र बिश्लेषण गर्दै अभिलेख गर्नु हो । अध्ययनको उदेश्य प्राप्ति गर्नको लागि अनुसन्धानकर्ताले अध्ययन क्षेत्रको जनसंख्याबाट उदेश्यमूलक नमूना छनौटको आधारमा अध्ययनको जनसंख्या छनौट गरी तोकिएको सीमामा रहेर विभिन्न सूचना तथा तथ्याङ्क संकलनका साधनहरुको प्रयोग गरी प्राप्त भएका तथ्याङ्कहरुको आधारमा व्याख्या विष्लेषण गरी प्रस्तुत गरिएको छ । अध्ययनको विषयसँग मेलखाने पूर्व साहित्यहरुको समीक्षा गर्दै विभिन्न जानकारी प्राप्त गरी तथ्याङ्क तथा सूचनाहरुको मुख्य स्रोतको रुपमा प्राथमिक स्रोतलाई लिइएको छ । यस अध्ययनमा पूर्व–प्रकाशित साहित्य तथा प्राप्त सूचना र तथ्याङ्कहरुलाई व्यवस्थित रुपमा प्रस्तुत गरी व्याख्या विष्लेषण गर्नको लागि ऐतिहासिक वर्णनात्मक विधिको प्रयोग गरिएको छ । साथै यो अनुसन्धानको मुख्य सैद्धान्तिक आधारको रुपमा अब्राहम मास्लो द्धारा प्रतिपादित मानविय आवश्यकताको सिद्धान्तलाई लिइएको छ । अध्ययनलाई जम्मा आठवटा अध्यायमा विभाजन गरिएको छ ।
माथिल्लो अरुण उपत्यकामा बसोबास गर्ने ल्होमी जातिको बौद्ध धर्म परम्परा अनुसार संचालन गरिने सामाजिक संस्कारको विषयमा तयार गरिएको यस अध्ययनको पहिलो अध्यायमा शोधको परिचय, समस्याको कथन, उदेश्य, औचित्य, अध्ययनको सीमा, ढाँचा, जनसंख्या, नमुना, तथ्याङ्कको स्रोत, तथ्याङ्क संकलनका साधन, तथ्याङ्क संकलन प्रक्रिया, विष्लेषण प्रक्रिया र शोधपत्रको रुपरेखालाई प्रस्तुत गरिएको छ । त्यस्तै अध्याय ‘दुई’मा अध्ययनको विषयसँग मेलखाने विभिन्न साहित्यहरुको समीक्षालाई व्यवस्थित रुपमा प्रस्तुत गरिएको छ ।
शोधपत्रको अध्याय ‘तीन’मा ल्होमी जातिको वासस्थान, उत्पत्ति र जनजीवन मूल शीर्षक भित्र यस जातिको बासोबास रहेको जिल्ला संखुवासभाको परिचय दिदै मुख्य बसोबास स्थल भोटखोला गाउँपालिकाको भौगोलिक बनावट, हावापानी, प्राकृतिक वातावरण, ताल, पोखरी, तातोपानी, खोलानाला, झरना, पहाड, हिमाल, जैविक विविधता, वनस्पति, वनजंगल, फलफुल, खाद्यवाली, जडीबुटी, जीवजन्तु, पशुपक्षीं, स्थानीय बासिन्दा, चाडपर्व, स्थानीय खेल, स्वास्थ्य र शिक्षाको अवस्थाको विषयमा प्रस्तुत गर्दै सत्रवटा ल्होमी गाउँहरुको विषयमा सविस्तार चर्चा गरिएको छ । यही अध्यायमा अध्ययन क्षेत्रको विभिन्न उमेर समुह र लिङ्ग अनुसारको जनसंख्या प्रस्तुत गरिएको छ भने धार्मिक बनोटलाई पनि तथ्याङ्कमा प्रस्तुत गरी व्याख्या विष्लेषण गरिएको छ । अध्ययनको मुख्य जाति ल्होमी जातिको चिनारी, आगमन, यस जातिको अन्य जातिय नाम, थरहरु, जनजीवन, शारीरिक बनावट, भेषभुषा, गरगहना, भाषा, लिपि, साहित्य र बाजागाजाहरु, धर्म, आर्थिक प्रणाली, पेशा व्यवसाय, खेतला प्रथा, ऋणप्रथा, व्यापार तथा व्यवसाय, परम्परागत उपचार पद्धतिको विषयमा चर्चा गरिएको छ । त्यस्तै यसै अध्यायमा ल्होमी जातिको सामाजिक संस्कारलाई व्यवस्थित रुपमा संचालन र सम्पन्न गर्नको लागि स्थापना भएको सामाजिक संगठन अन्र्तगत पुरुष तथा महिलाहरुको भूमिकालाई पनि प्रस्तुत गरिएको छ । यसबाट अध्याय ‘तीन’ले शोधको पहिलो उदेश्यलाई सार्थक र अर्थपूर्ण बनाएको छ ।
शोधपत्रको अध्याय ‘चार’मा ल्होमी जातिको धर्म, धार्मिक केन्द्र तथा धार्मिक अगुवा अन्र्तगत बौद्ध धर्म, बौद्ध धर्म भित्रको सम्प्रदाय, लामा बौद्ध धर्म र यस भित्रको निङमपा, कग्युपा, सक्यपा र गेलुक्पा सम्प्रदायको विषयमा विभिन्न उपशीर्षकहरुमा विभाजन गरी चर्चा गरिएको छ । त्यस्तै यही अध्यायनमा बोन धर्म, बोन संस्कृति, बोन मार्ग, इशाई धर्म र हिन्दू धर्मको विषयमा प्रस्तुत गरिएको छ । धार्मिक केन्द्र अन्र्तगत ल्होमी जातिहरुको बसोबास स्थलमा रहेका गुम्बा, गिर्जाघर र मन्दिरहरुको विषयमा चर्चा गरिएको छ । ल्होमी जातिमा विद्यमान रहेका बौद्ध, बोन र इशाई धर्मको अगुवाहरुको विषयमा पनि यसै अध्यायमा तथ्याङ्क सहित चर्चा गरिएको छ । यसबाट ल्होमी जातिको परिचयका साथै सामाजिक संस्कार सम्बन्धि विस्तृत रुपमा जानकारि प्राप्त गर्नको लागि सामाजिक एवं धार्मिक मुल्य मान्यता र सामाजिक संस्कारको लागि आवश्यक सांगठानिक जानकारी मिल्दछ ।
ल्होमी जातिलाई चिनारी दिने एउटा महत्वपूर्ण माध्यम संस्कार हो । संस्कार शब्दको अर्थ पवित्रीकरण, शुद्धिकरण गर्नु, पूर्ण बनाउनु र परिष्कृत गर्नु भन्ने हुन्छ । समाजमा रहेका विभिन्न मुल्य मान्यता, विचार, आस्था र व्यवहार भएका मानिसहरुलाई पवित्रीकरण र शुद्धिकरण गर्दै गोलबद्ध गरी पूर्ण बनाउन प्रयासरत भई आत्मासन्तुष्टि प्रदान गर्न सदैव लागी पर्ने माध्यमलाई संस्कारको रुपमा लिन सकिन्छ । ल्होमी जाति सामाजिक तथा सांस्कृतिक दृष्किोणले धनी जाति हो । यी जातिको मुख्य सामाजिक संस्कारहरुमा जन्म, बिवाह र मृत्यु संस्कार नै प्रमुख हुन् । त्यसैले ल्होमी समाजमा परम्परागत समयदेखि सामाजिक मुल्य मान्यता तथा बौद्ध धर्मको दर्शन, सिद्धान्त र मुल्य मान्यताको आधारमा शारीरिक, मानसिक तथा बौद्धिक रुपले सन्तुष्टि लिने दिने र आत्मासन्तुष्टि प्राप्त गर्ने उदेश्यका साथ संपन्न गरिने जन्म, बिवाह र मृत्यु सम्बन्धिको सम्पूर्ण गतिविधिहरुलाई सामाजिक संस्कारको रुपमा यस अनुसन्धानमा लिइएको छ ।
बौद्ध धर्म परम्परा अनुसार ल्होमी जातिमा विद्यमान सामाजिक संस्कार, यसमा धर्मको प्रभाव, बौद्ध संस्कृति र सामाजिक संस्कार, लामा बौद्ध धर्म र जन्मको अवधारणाको चर्चा गर्दै जन्म र विवाह संस्कारको विषयमा अध्याय ‘पाँच’मा प्रस्तुत गरिएको छ । ल्होमी जातिमा जन्म अगाडि धिरुम् क्षेकेन (नराम्रो घटनाबाट मुक्त हुन गरिने संस्कार), रुङ तान टेकेन् (बुटी बाधिदिने), लप्स ज्याकेन (सल्लाह सुझावहरु प्रदान गर्ने), क्षेया क्षेकेन् (बलि चढाएर पूजा गर्ने) जस्ता संस्कार धर्म गुरु लामा तथा लवेनहरुद्धारा गर्ने गर्दछन् । जन्म पछाडि बच्चाको ठी (शुद्धिकरण), सिर्किम तोङ्गेन (बच्चा अर्पण कार्य), मिङ ताकेन (नाम राख्ने), मेलम ज्याकेन् (आषिस दिने कार्य), ठी ज्याङ्ग (जन्मको भोज) जस्ता संस्कारहरु गर्ने गरेको पाइन्छ । यी जातिहरुमा बच्चाको नाम राख्नको लागि लामाहरु नै अनिवार्य रुपमा चाहिन्छ । ठीज्याङको समयमा बच्चालाई आफन्तहरु तथा गाउँलेहरुले विभिन्न नयाँ लुगा कपडाहरु ल्याईदिने र सुरुमा हेर्दा रुपैया पैसाहरु पनि दिने गर्दछन् । यो समयमा यस क्षेत्रमा जाँड खाएर नाचगान सहित रमाइलो गर्ने गर्दछन् । जन्म संस्कारमा विगतमा गर्ने संस्कार भन्दा केही परिवर्तन हुँदै आएको पाइन्छ । पहिले पहिले अनिवार्य रुपमा धिरुम् गर्ने गरेकोमा हाल आएर प्रायः आमा र पेट भित्रको बच्चाको स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य चौकी तिर पनि जाने गरेको देखिन्छ । त्यस्तै यस जाति भित्र बच्चा जन्मेको बेला सबैजना भेला भएर नाच्ने गाउने, बच्चाको लागि विभिन्न राम्रो कपडाहरु लगाईदिने, फुलको रुपमा रुपैया पैसा उपहार दिने संस्कार अत्यन्तै राम्रो देखिन्छ । धिरुम् संस्कारको बेला लामा तथा लवेनले गर्भवती महिला र उसको श्रीमान् तथा अन्य परिवारलाई दिने अर्ती उपदेशहरुले पनि वास्तवमा नै सकारात्मक प्रभाव पारेको देखिन्छ ।
बौद्ध धर्म परम्परा अनुसार ल्होमी जातिमा विवाह संस्कारलाई महत्वपूर्ण संस्कारको रुपमा लिने गर्दछन् । यस जातिमा जबरजस्ती विवाह, मागी विवाह, चोरी फकाई विवाह, प्रेम विवाह, भाउजु विवाह, जारी विवाह, बहुपत्नी विवाह जस्ता विवाहहरु प्रचलनमा रहेको पाइन्छ । ल्होमी जातिको परम्परागत विवाह गर्ने प्रचलनमा सबैभन्दा बढी प्रचलित रहेको विवाह जबरजस्ती तानेर गर्ने विवाह रहेको देखिन्छ । जुनसुकै प्रकारले विवाह गरेतापनि विवाह गर्ने विधि वा पद्धतिमा भने समानता देखिन्छ । विवाह गर्दा खेरी ज्याङ्ब थिन्गेन् (केटीलाई केटाको गाउँतिर ल्याउने कार्य), ठी झिकेन् (चोख्याउने कार्य), नातोक स्याक्केन (नाक चिर्नेे कार्य), घवुक् सुगेन् (नराम्रा कुराहरु हटाउने कार्य), क्षा योप्केन् (आशिर्वाद बोलाउने कार्य), गोचदुु देक्न लम् का च्येकेन् (ढोकामा बसेर बाटो रोक्ने कार्य), थोक्पा दुम्ने (बोका काट्ने कार्य), मिग क्षङ्गेन (मिग नाच), ला छि लिने टेकेन् (सातो र आयु बोलाउने), सप्तेन (केटाको आयु थप्ने कार्यक्रम), तोनाक रिम्नेन (दशालाई दबाउने), चुक्दर (ग्रह दशालाई पन्छाउने), टेशी मेलम (टिका लगाउने कार्य), लम्सी (बाटो खुल्ला गर्ने कार्य), थाक च्योक्कोन (अन्तिम विवाह) जस्ता कार्यहरु गर्ने गर्दछन् । यस जातिमा विवाहको बेला बुझाउनुपर्ने रीत तथा भोजहरु भने भुस्यीङ् (बेहुलाको आफन्तहरुलाई दिने भोज) र क्षेक्षाङ् (बेहुलीकी आफन्तहरुलाई दिने भोज) रहेको देखिन्छ । यसरी अध्याय पाँचमा बौद्ध धर्म परम्परा अनुसार ल्होमी जातिले संचालन र सम्पन्न गरिने जन्म र विवाह संस्कारको विषयमा सामाजिक र धार्मिक दृष्टिकोणबाट प्रेरित भएर गरिने विभिन्न कार्यहरुको विषयमा चर्चा गरिएको छ । अध्याय ‘पाँच’ले शोधपत्रको दोस्रो उदेश्य अन्र्तगत ल्होमी जातिको बौद्ध परम्परा अनुसार संचालन गरिने जन्म र विवाह संस्कारको विषयमा जानकारी प्रदान गरिएको छ ।
ल्होमी जातिको अर्काे महत्वपूर्ण संस्कार मृत्यु संस्कार हो । यस शोधपत्रको अध्याय ‘छ’मा बौद्ध धर्म परम्परा अनुसार ल्होमी जातिले संचालन र सम्पन्न गरिने मृत्यु संस्कारको विषयमा विभिन्न शीर्षक तथा उपशीर्षकहरुमा विभाजन गरी प्रस्तुत गरिएको छ । जुन शोधको दोस्रो उदेश्यको रुपमा रहेको छ । प्रायः यस जातिमा आगोमा जलाएर अन्त्येष्टि संस्कार गर्ने गरेको पाइन्छ । यी जातिहरुको पुर्नजन्ममा बिश्वास गर्ने गर्दछन् । मृत्यु संस्कार गर्दा फुव झ्यिकेन (चेतना स्थानान्तरण), चि तागेन (पात्रो हेर्ने), स्यिङ्ज्योक (चित्तलाई नराम्रो आत्माको नियन्त्रणबाट छुट्याउने), थुक्षिम्बु (चित्तलाई निर्देशन दिने), स्यिरे (चित्तलाई स्वतन्त्र बनाउने), धिरिप् सोगेन (लास जलाउने ठाउँ बनाउने), ज्योज्याङल रो सोकेन (लास राख्ने), वाङ्गुर गर्ने (लामाले आशिष दिने), फुङवु तेन्गेन (शव निकाल्ने), फुङवु हेकेन् (शव जलाउने), ठी झिकेन् (चोख्याउने कार्य), सीमा् लोङगेन (चित्तलाई मृत्यु भएको बताउने), रिजी स्योकन् (अस्ती राख्ने), सेङेक टेकेन् (मृतकको चित्तलाई खुवाउने), झ्याङ्ज्यो तेङ्गेन (मृतकको प्रतिरुप बनाउने), दिन्जी धाङबु (पहिलो साप्ताहिक कार्यक्रम), दिन्जी ङिव (दोस्रो साप्ताहिक कार्यक्रम), दिन्जी सुम्ब (तेस्रो हप्ताको साप्ताहिक कार्यक्रम), स्यिप्च्यु (सात हप्ता पछि गरिने कार्यक्रम), गिव तोङ्गेन (घेवा संस्कार), कत ज्याकेन् (सहयोग प्रदान गर्ने), किने (महिला मृतकको चित्तको शान्तिको लागि गरिने कार्य), स्यासो (समापन), धेन्जेक (वार्षिक श्राद्ध) जस्ता कार्यहरु गर्ने गर्दछन् । यी माथि उल्लेख गरिएका संस्कार भित्र संचालन गरिने विभिन्न कार्यक्रमहरुले देश विदेशमा नै ल्होमी जातिलाई सांस्कृतिक रुपमा पहिचान र पृथकता प्रदान गरिएको छ ।
धार्मिक, सामाजिक, स्वास्थ्य, सांस्कृतिक र मनोवैज्ञानिक महत्व बोकेका ल्होमी जातिको बौद्ध धर्म परम्परा अनुसार संचालन गरिने सामाजिक संस्कारहरुमा उद्विकास, प्रगति, अनुकुलन, विकास, बसाइँसराई, प्रसार, आधुनिकीकरण, नवीकरण, पाश्चात्यकरण, संस्कृतिकरण र परसंस्कृतिकरण, आत्मसात्करण र सूचना प्रविधि जस्ता कारणले परिवर्तनहरु समेत देखापरिरहेका छन् । यसबाट ल्होमी जातिको बौद्ध धर्म परम्परा अनुसार गरिने विभिन्न सामाजिक संस्कारहरु कुनै लोप हुदै गएको देखिन्छ भने कुनै संकटमा समेत पर्दै गएको देखिन्छ । तर सुधारात्मक पक्षलाई भने ल्होमी समुदायले ग्रहण गर्दै आएको पाइन्छ । त्यसैले शोधको तेस्रो उदेश्यलाई पूरा गर्न यस शोधपत्रको अध्याय ‘सात’मा ‘ल्होमी जातिको सामाजिक संस्कारमा देखापरेका परिवर्तन’ शीर्षकलाई विभिन्न उपशीर्षकहरुमा विभाजन गरी जीवनशैली, पेशा, आवास, घरायशी सामग्री, गरगहना, भेषभुषा, धर्म संस्कृति, सामाजिक संगठन र सामाजिक संस्कार अन्र्तगत जन्म, विवाह र मृत्यु संस्कार प्रतिको दृष्टिकोण, विधि र भोजमा देखापरेका परिवर्तनहरुलाई प्रस्तुत गर्दै यस जातिको सामाजिक संस्कार भित्र विद्यमान सकरात्मक तथा सुधारात्मक पक्षको विषयमा चर्चा गरिएको छ ।
अध्याय सातमा नै ल्होमी जातिको सामाजिक संस्कार संरक्षण एवं सम्र्वद्धनका उपायहरु अन्र्तगत सामाजिक संस्कारसँग सम्बन्धित सामाग्र्रीहरुको अभिलेख राखी संरक्षण गर्नु, धार्मिक ग्रन्थको संरक्षण एवं व्यवस्थापन गर्नु, सामाजिक संस्कारको संरक्षणको सामाजिक कानुनी प्रावधान, सामाजिक संस्कार संचालन गर्ने उचित स्थानको निर्माण, गुफा शिक्षामा सामाजिक संस्कार संचालनको शिक्षा प्रदान, सामाजिक संस्कार संरक्षण एवं सम्र्वद्धनको लागि कार्यक्रम संचालन, सामाजिक संस्कारमा बाहिरी हस्तक्षेप नियन्त्रण, सामाजिक संस्कारको सामाग्रीहरु निर्माणको लागि तालिम संचालन, विद्यालय तहमा छुट्टै पाठ्यक्रम निर्माण गरी पठनपाठनको व्यवस्था, ऐतिहासिक पुरातात्विक संग्रहालयको स्थापना, संस्कारको महत्व र आवश्यकता सम्बन्धि जनचेतनामुलक कार्यक्रम संचालन, विकासको क्रममा ऐतिहासिक सम्पदा तथा संस्कारसँग सम्बन्धित पक्षको सुरक्षा, सामाजिक संगठनात्मक पद्धतिको संरक्षण, सामाजिक संस्कार अध्ययन केन्द्रको स्थापना, सामाजिक संस्कार सम्बन्धि ज्ञान, सीप र अनुभव आदान प्रदान कार्यक्रम, सामाजिक संस्कारको एकिकृत रुपरेखा निर्माण, सामाजिक संस्कारलाई पर्यटनको आकर्षण केन्द्रको रुपमा विकास, प्राविधिक सहायता तथा आर्थिक अनुदानको व्यवस्था, आधुनिक सुचना तथा संचारको माध्यमबाट प्रचार प्रसारमा जोड, प्रतियोगितात्मक कार्यक्रम संचालन, सामाजिक संस्कारमा समय अनुकुल परिमार्जन, सामाजिक संस्कार लोप हुनुको कारणहरुको खोजी गर्नु, सांस्कृतिक सम्पदाको संरक्षणमा जोड, अडियो भिडियो रेकर्ड गरी अभिलेख राख्ने, अध्ययन अनुसन्धानको वातावरण सृजना र थप प्रोत्साहनको विषयमा चर्चा गर्दै अध्ययनबाट प्राप्त निष्कर्ष अनुसार सम्बन्धित पक्षलाई सुझावहरु प्रस्तुत गरिएको छ । अध्याय ‘आठ’ उपसंहारमा माथिका अध्यायहरुमा समावेश गरिएका एवं अध्ययनबाट प्राप्त जानकारी, सुचना, तथ्याङ्क, नयाँ तथ्य, ज्ञान र प्राप्तिहरुको आधारमा निकालिएका निष्कर्षहरु उल्लेख गरिएको छ । साथै अध्ययनलाई व्यवस्थित बनाउन र सार्थक बनाउनको लागि प्रयोग गरिएका तथ्याङ्क संकलनका साधन, मुख्य शब्दहरुको अर्थ र अध्ययनका क्रममा लिइएका तस्विरहरु परिशिष्टमा समावेश गरि सन्दर्भ सामग्रीलाई शोधपत्रको अन्तिममा समावेश गरिएको छ ।